काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत आयोजित ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले संकट आएपछि मात्र प्रतिक्रिया दिने शैली परिवर्तन गरी रोकथाममा केन्द्रित हुनुपर्ने बताए।
कोभिड–१९ महामारीले कुनै एक स्थानमा उत्पन्न जनस्वास्थ्य आपत्काल विश्वव्यापी संकटमा परिणत हुन सक्ने देखाएको उल्लेख गर्दै उनले स्वास्थ्य सेवासँगै खोप, औषधि, प्रविधि र वित्तीय स्रोतमा रहेको असमानता पनि उजागर भएको बताए।
मन्त्री खनालले महामारी स्वास्थ्य संकटमा मात्र सीमित नभई दशकौँमा हासिल भएका विकासका उपलब्धिलाई समेत चुनौती दिएको बताए। नेपालले महामारी तयारीलाई सुदृढ बनाउन विश्व स्वास्थ्य संगठनको महामारी सम्झौता तथा संशोधित अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीलाई महत्वपूर्ण कदमका रूपमा स्वागत गरेको उनले उल्लेख गरे।
विश्वव्यापी महामारी रोकथाम तथा तयारीका लागि नेपालले समानतामा आधारित स्वास्थ्य सुरक्षा, दिगो वित्तीय स्रोत, बहुपक्षीय सहकार्य, विकासशील मुलुकको अर्थपूर्ण प्रतिनिधित्व, ‘सम्पूर्ण सरकार, सम्पूर्ण समाज र एक स्वास्थ्य’ अवधारणा तथा युवाको सहभागितालाई प्राथमिकतामा राखेको मन्त्री खनालले बताए।

