काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विषयसँग सम्बन्धित छ वटा विधेयक प्रस्तुत भएका छन्। तीमध्ये स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार वटा विधेयक प्रस्तुत गरिन्।
मन्त्री मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक प्रस्तुत गरिन्।
त्यस्तै, मन्त्री सीता बादीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रस्तुत गरिन्। प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक प्रस्तुत गरिन्।
यसैबीच, सभामुख डोलप्रसाद अर्यालले संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते दिउँसो २ बजे निर्वाचन हुने जानकारी गराएका छन्।

