काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको घटनाबारे सरकारसँग प्रश्न उठाएका छन्।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले विशिष्ट व्यक्तिलाई पक्राउ गर्ने यस्तो कार्य दोहोरिए त्यसको ठूलो मूल्य सरकारले चुकाउनुपर्ने बताए।
दाहालले जबराको पक्राउलाई न्यायालयलाई तर्साउने प्रयासका रूपमा बुझिएको भन्दै ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरे। उनका अनुसार सुरक्षा चुनौती नै रहेको भए पक्राउ गर्नुको सट्टा घरमै सुरक्षाकर्मी बढाउन सकिन्थ्यो।
जबराको पक्राउसम्बन्धी वास्तविक तथ्य विस्तारै बाहिर आउने दाहालको भनाइ थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई आइतबार महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको पुष्टि भएको छ भने उनीविरुद्धको कसुर तत्काल खुलाइएको छैन।

