काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको सम्बोधनले जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रियस्तरमा थप बलियो रूपमा उठाएको बताउनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा महासभामा नेपालको सहभागिताबारे जानकारी दिँदै मन्त्री खनालले प्रधानमन्त्री शाहले ‘जनरल डिबेट’मार्फत नेपालको जलवायु संकट तथा जलवायु न्यायको आवश्यकताबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको बताउनुभयो।
उहाँका अनुसार महासभाका क्रममा नेपाली प्रतिनिधिमण्डलले विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै विभिन्न उच्चस्तरीय सत्रमा सहभागिता जनाएर नेपालको धारणा प्रस्तुत गरेको थियो।

