‘श्रम होइन, सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ’ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको विकाससँगै नेपालले अन्तर्राष्ट्रिय बजारमा सेवा निर्यात गरेर आर्थिक लाभ लिनुपर्ने बताउनुभएको छ।

नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ मा बोल्दै उहाँले नेपाली युवाको सीप, ज्ञान र प्रविधिसम्बन्धी क्षमतालाई स्वदेशमै उपयोग गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या उल्लेख्य रहेको सन्दर्भमा सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्वभर सेवा दिन सकिने सम्भावना औँल्याउनुभयो।

“अब हामीले श्रम र जनशक्ति होइन, सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो। सूचना प्रविधिमा आधारित सेवा विस्तार गर्न सके युवाका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले डिजिटल पहुँच विस्तार, इन्टरनेट सेवाको गुणस्तर सुधार र डिजिटल विभाजन अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले यसै वर्ष फाइभ-जी सेवा सुरु गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिँदै उहाँले प्रविधिको विकासलाई उत्पादन, रोजगारी र आर्थिक गतिविधिसँग जोड्नुपर्ने बताउनुभयो।

उहाँका अनुसार नवप्रवर्तन र उद्यमशीलताको विकासका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक छ। साथै, युवालाई शैक्षिक योग्यतामा मात्र सीमित नराखी भविष्यको बजारमा आवश्यक पर्ने सीप र क्षमताका आधारमा दक्ष बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले कृत्रिम बौद्धिकता (एआई) को उपयोगबाट नेपालले आर्थिक तथा प्राविधिक क्षेत्रमा लाभ लिन सक्ने बताउनुभयो। उहाँले एआईको प्रभावकारी प्रयोगबाट सरकारी सेवा सुधार, उत्पादकत्व वृद्धि, तथ्याङ्क सुरक्षा र रोजगारी सिर्जनामा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

नेपालमा एआईसम्बन्धी युवाको सहभागिता र लगानी बढ्दै गएको उल्लेख गर्दै उहाँले यस क्षेत्रको सम्भावना उपयोग गर्न नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको