काठमाडौँ । कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने एसीसी प्रिमियर कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन्।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, इशान पाण्डे, राशिद खान र देव खनाल।

