मेखला र कुशासनको विकल्पमा कुरूप रङ्गवल्ली र रङ्गोलीले लिएको स्थान!

 

लेखक बिष्णु प्रसाद पोख्रेल

यज्ञपुरुषाय नमः

श्रौतयाग तथा स्मार्तयागका प्राचीन विधिहरूको अध्ययन गर्दा विभिन्न कृत्रिम रङ्गहरूको प्रयोग गरी रङ्गवल्ली निर्माण गर्ने परम्परा मूल यज्ञविधिमा रहेको देखिँदैन। यज्ञकर्ममा आवश्यक पर्ने यज्ञपात्र, पीठिका, यज्ञीय वनस्पति तथा कुशलाई नै आसन र विधिसम्पादनका आधारका रूपमा प्रयोग गरिएको पाइन्छ। यज्ञको मूल स्वरूप बाह्य सजावटभन्दा पनि शास्त्रोक्त विधि, मन्त्र, द्रव्य र क्रियाको शुद्धतामा आधारित छ।

१. यजमानको आसन :
‘वारणादियज्ञीयवृक्षोद्भवासने प्रागग्रानुदगग्रान्वा त्रीन्कुशान्दत्त्वा उपविश्य’ भन्ने विधानअनुसार वारणादि यज्ञीय वृक्षबाट निर्मित आसन अथवा पिर्कामाथि पूर्वाग्र वा उत्तराग्र गरी तीनवटा कुश राखेर यजमान पूर्व वा उत्तराभिमुख भई बस्ने व्यवस्था छ।

२. ब्रह्मासन :
‘दक्षिणतो ब्रह्मासनमास्तीर्य’ भन्ने विधानअनुसार यज्ञमा ब्रह्माको प्रतिनिधिका रूपमा रहने पात्रब्राह्मणका लागि निर्धारित दिशामा कुशास्तरण गरी आसनको व्यवस्था गरिन्छ। यज्ञीय काठबाट निर्मित पिर्कामा कुश बिछ्याई ब्रह्मासन तयार गर्ने परम्परा छ।

३. होतुरासनम् :
होताका लागि पनि यज्ञीय काष्ठबाट निर्मित आसनमा तीनवटा कुश राखेर आसन प्रदान गर्ने विधान रहेको छ।

४. प्रणीतासन तथा प्रोक्षणीपात्रासन :
‘त्रिभिर्दर्भैः प्रणीतासन-प्रोक्षण्यासनं च निदध्यात्’ भन्ने विधानअनुसार प्रणीतापात्र तथा प्रोक्षणीपात्रका लागि तीन–तीनवटा कुशको आसन तयार गरिन्छ।

५. बर्हिः परिस्तरणम् :
अग्निको चारैतर्फ बर्हिष् अर्थात् कुशहरू विधिपूर्वक बिछ्याई पात्रहरूको स्थापना तथा देवताहरूको आसनसम्बन्धी व्यवस्था गरिन्छ।

यसका अतिरिक्त श्रौत तथा स्मार्त यागमा कृष्णसार मृगको चर्मलगायतका वस्तु आसनका रूपमा प्रयोग हुने शास्त्रीय विधानसमेत पाइन्छ।

यज्ञकर्ममा स्रुवा, स्फ्य, जुहू, उपभृत्, उपयमनकुश तथा बर्हिष्का माध्यमबाट रेखा निर्माण, परिस्तरण र विभिन्न संस्कारसम्बन्धी क्रियाहरू सम्पादन गरिन्छन्। यसको मूल उद्देश्य शास्त्रोक्त विधिअनुसार यज्ञभूमि, अग्नि, पात्र र द्रव्यको संस्कार गर्नु हो; केवल बाह्य सजावट गर्नु होइन।

भारतका कतिपय गुरुपरम्परामा आज पनि यस्ता प्राचीन यज्ञीय विधि र परम्पराहरू जीवन्त रहेको देखिन्छ।

त्यसैगरी कुण्डमण्डपसिद्धि लगायतका ग्रन्थहरूमा यज्ञकुण्ड, स्थण्डिल, पीठ तथा मण्डप निर्माणका विषयमा विस्तृत व्याख्या पाइन्छ। सर्वतोभद्र, लिङ्गतोभद्र, ग्रहशान्ति तथा ग्रहमखादि कर्ममा रङ्गविन्यासको प्रसङ्ग अवश्य आउँछ। त्यस्ता कर्ममा पनि यथासम्भव प्राकृतिक रङ्ग तथा परम्परागत विधिको महत्त्व रहेको देखिन्छ।

तर कालान्तरमा लौकिक यज्ञकर्ममा रङ्गवल्लीले अत्यधिक प्रधानता पाउँदै गएको छ। अझ विडम्बना त के छ भने प्रचलित कर्मपद्धतिमा उल्लेखित विधि र स्वरूपलाई समेत बेवास्ता गर्दै आफूखुसी रङ्गवल्ली कोर्ने र त्यसैलाई शास्त्रीय परम्पराको नाम दिने प्रवृत्ति बढ्दो छ।

भूमिशोधनको मूल आशय यज्ञभूमिलाई संस्कारित, पवित्र र कर्मयोग्य बनाउनु हो। शोधन गरिसकेको भूमिमा सिसा वा अन्य रासायनिक पदार्थ मिश्रित अवीर तथा कृत्रिम केशरी रङ्गहरू जथाभावी छरेर सजावट गर्दैमा भूमि पवित्र हुन्छ भन्ने मान्यता शास्त्रीय दृष्टिले स्वीकार्य हुन सक्दैन। पवित्रताको आधार शास्त्रोक्त संस्कार हो, कृत्रिम रङ्गको बाहुल्यता होइन।

अष्टदल, स्वस्तिक, त्रिभुज, षट्कोण तथा त्रिशूल आदि आकृतिहरू पनि निश्चित धार्मिक तथा यज्ञीय प्रयोजनसँग सम्बन्धित प्रतीकात्मक रेखाविन्यास हुन्। यिनलाई मनलाग्दी रङ्ग भरेर सजावट गर्ने माध्यमका रूपमा मात्र बुझ्नु उचित हुँदैन। देवकार्य तथा पितृकार्य दुवैमा कुशको आफ्नै विशिष्ट शास्त्रीय महत्त्व र अपरिहार्यता छ।

आज यज्ञकर्मको मूल विधि, मेखला, कुशासन, पात्रसादन, परिस्तरण तथा अग्निसंस्कारभन्दा पनि रङ्गीन सजावट, आकर्षक मण्डप र आरती प्रदर्शनले बढी महत्त्व पाउन थालेको देखिन्छ। यज्ञलाई यसको वास्तविक स्वरूपबाट विमुख गराएर केवल डेकोरेसन र आरतीमा सीमित पार्ने प्रवृत्तिले हाम्रो वैदिक कर्मपरम्पराको मूल मर्मलाई नै ओझेलमा पारिरहेको छ।

यज्ञ प्रदर्शनको विषय होइन, विधिपूर्वक सम्पादन गर्नुपर्ने वैदिक कर्म हो।

अतः यज्ञकर्मका नाममा मनोमानी रङ्गवल्ली निर्माण गर्ने, शास्त्रीय आसन र मेखलाको स्वरूप विस्थापित गर्ने तथा विधिविहीन सजावटलाई नै धार्मिक उपलब्धि ठान्ने प्रवृत्तिको समयमै समीक्षा गरिनुपर्छ। कर्मकाण्डका ज्ञाता भनिने आचार्य तथा पण्डितहरूले सर्वप्रथम आफ्नै शाखा, सूत्र र पद्धतिको अध्ययन गरी शास्त्रसम्मत विधिलाई प्राथमिकता दिनु आवश्यक छ।

रङ्गोलीका नाममा वैदिक यज्ञको मूल जरो नखलबल्याऔँ। शास्त्रले निर्दिष्ट गरेको कुशासन र यज्ञीय विधिलाई विस्थापित गरेर कृत्रिम सजावटलाई स्थापित गर्ने अधिकार कसैलाई छैन।

यज्ञको गरिमा र वैदिक परम्पराको संरक्षण गर्ने हो। यज्ञलाई वैदिकयज्ञ हो भन्ने व्यवहारमा अपूर्ण अशास्त्रीय रूपमा गर्ने पण्डित र यजमान दुवै दोषी हुन्। यजमानलेपनि पण्डितले गर्ने रङ्गोली, सजावट, डेकोरेशन के गरेको हो, सङ्कल्पित कार्यमा समय लगाएको छ छैन बुझ्न आवश्यक छ। तीन घण्टा रङ्गोली, मध्याह्न र आरतीलाई मन्त्र पाठलाई एक घण्टामात्र छुट्याउँछ भने सम्झिनुस् तपाईंले धोकाखाँदै हुनुहुन्छ। सावधानी तपाईंले अपनाउने हो। बाह्य आडम्बर होइन, मूल शास्त्रीय विधितर्फ फर्कौं।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको