अहिलेको सरकार अमेरिकी निर्देशनमा चल्ने ‘कठपुतली सरकार’ हो: मोहनविक्रम सिंह

वर्तमान सरकारलाई अमेरिकी निर्देशनमा चल्ने ‘कठपुतली सरकार’को संज्ञा दिँदै परराष्ट्र नीति सरकारको स्वरूपले निर्धारण गर्ने बताउनुभयो।

नेकपा मसाल का महामन्त्री मोहनविक्रम सिंह ले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको राजनीतिक आवश्यकता नभई अमेरिकी रणनीतिको उपज भएको दाबी गर्नुभएको छ।

सिंहका अनुसार अहिलेको सरकारले भारत र चीन जस्ता छिमेकी मुलुकसँगको सम्बन्धमा आघात पुर्‍याउने तथा संयुक्त राज्य अमेरिका को स्वार्थलाई प्राथमिकता दिने खतरा रहेको छ।

उहाँले अमेरिकी रणनीतिको मुख्य उद्देश्य नेपालको भूमि प्रयोग गरी चीनको तिब्बत क्षेत्रमा प्रभाव जमाउने वा आक्रमणको आधार बनाउने हुनसक्ने आशंका व्यक्त गर्नुभयो। साथै, वर्तमान सरकारका केही मन्त्रीहरू ‘फ्री तिब्बत’ आन्दोलनप्रति सहानुभूति राख्ने बताउँदै यसले नेपाललाई सम्भावित द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिनुभयो।

लोकप्रियतावाद (पपुलिजम) लाई अन्तर्राष्ट्रिय समस्या बताउँदै सिंहले यसले फासीवाद जन्माउन सक्ने तर्क गर्नुभयो। उहाँले युक्रेन, गाजा र इरान जस्ता क्षेत्रको उदाहरण दिँदै नेपाललाई पनि त्यस्तै युद्धभूमि बनाउने प्रयास भइरहेको दाबी गर्नुभयो।

उहाँले वर्तमान अवस्थामा युवा तथा विद्यार्थीहरू विदेशी प्रचारको प्रभावमा परेको आरोप लगाउँदै सचेत हुन आग्रह गर्नुभयो।

साथै, सरकारले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन र प्रेसमाथि नियन्त्रण बढाउँदै लोकतान्त्रिक अधिकारहरू कमजोर बनाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

अन्त्यमा, अमेरिकी साम्राज्यवादविरुद्ध सबै देशभक्त, वामपन्थी तथा प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको