काठमाडौँ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले अनलाइन पोर्टललाई पूर्ण रूपमा फेसलेस बनाउन त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौँ विश्वविद्यालय (केयू) सँग एपीआईमार्फत अन्तरआवद्धता सम्पन्न गरेको हो।
वैशाख ४ गते त्रिविसँग सम्झौता भएको र केयूसँग यसअघि नै सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ। यससँगै विद्यार्थीले अनलाइनमार्फत आवेदन दिन, प्रक्रिया पूरा गर्न र प्रमाणपत्र आफैं प्रिन्ट गर्न सक्नेछन्।
एनओसी शुल्क पनि पूर्ण रूपमा अनलाइनमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको छ भने क्यूआर कोडसहितको प्रमाणपत्र प्रोफाइलबाट डाउनलोड गर्न सकिनेछ।

