काठमाडौँ । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने जनाएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार दुर्घटनाको सूक्ष्म छानबिन गरी प्रस्तुत गरिने निष्कर्ष र सुझावलाई कार्यान्वयन गरिनेछ। गृह मन्त्रालयअन्तर्गत गठन गरिएको समितिले आज आफ्नो समयसीमा पूरा गर्दै प्रतिवेदन बुझाउने तयारी गरेको छ।
सडक दुर्घटना नागरिकको जीवनसँग जोडिएको संवेदनशील विषय भएकाले प्राविधिक र मानवीय कमजोरी सुधार्न सरकार दृढ रहेको जनाइएको छ।

