राष्ट्रपति पौडेलको सन्देश: सत्य, निष्पक्ष र निर्भय पत्रकारितालाई अझ सशक्त बनाउन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले विश्व प्रेस स्वतन्त्रता दिवस २०२६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार तथा नेपाली दाजुभाइ-दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। उनले नेपाली सञ्चार जगत्ले संविधानले प्रदान गरेको अधिकारको पूर्ण प्रयोग गर्दै निर्भयपूर्वक सत्य सूचना सम्प्रेषण गर्न सधैँ सफल रहोस् भन्ने कामना गरेका छन्।

राष्ट्रपतिले स्वतन्त्र पत्रकारितामार्फत सत्यको खोजी र तथ्यपरक सूचना प्रवाह गरी समाजमा सही कुरा स्थापित गर्न विशेष ध्यान दिनुपर्ने बताएका छन्। प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै उनले विभिन्न लोकतान्त्रिक आन्दोलनहरूमा प्रेसको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गरेका छन्।

उनका अनुसार नागरिकको सुसूचित हुने अधिकारको कार्यान्वयनमा पनि प्रेस स्वतन्त्रता अत्यन्त आवश्यक छ। प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै मजबुत बन्दै जाने उनले स्पष्ट पारे।

शुभकामना सन्देशमा पत्रकारहरूका लागि सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै, संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको उनले उल्लेख गरेका छन्। सूचना सङ्कलनदेखि प्रवाहसम्मको प्रक्रिया स्वतन्त्र र निर्वाध हुनुपर्ने तथा सबै वर्ग र समुदायको आवाज समेटिनुपर्नेमा उनले जोड दिएका छन्।

साथै, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक र मिथ्या सूचनाले समाजलाई दिग्भ्रमित पार्ने चुनौती रहेको बताउँदै, यस्ता चुनौतीको सामना गर्दै सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न प्रेस क्षेत्रलाई थप ऊर्जा, हौसला र प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको