काठमाडौँ । निर्वाचन आयोग ले निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गर्न तयार गरिएको विधेयकमा राजनीतिक दलहरूसँग सुझाव मागेको छ। आयोगले १० दिनभित्र आफ्नो धारणा पठाउन आग्रह गरेको छ भने विधेयकको मस्यौदा वैशाख १५ गते आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।
सात वटा ऐनलाई समेटेर तयार गरिएको मस्यौदा आयोगले २०८० असार १८ गते सरकारलाई पठाएको थियो। तर, लामो समय गृह मन्त्रालय मा अड्किएको उक्त विधेयक केही परिमार्जनको तयारीपछि संसद् विघटनसँगै पुनः आयोगमै फर्काइएको हो।
आयोगका अनुसार विद्युतीय मतदान (ई–भोटिङ), विदेशमा रहेका नेपालीको मतदान अधिकार तथा अन्तर–प्रदेश मतदानजस्ता विषयलाई समेट्न नयाँ एकीकृत कानुन आवश्यक रहेको छ।

