काठमाडौँ । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन्।
बैठकले गरेका प्रमुख ४ निर्णयहरू यसप्रकार छन्:
१. भारतसँग जी–टु–जी (सरकार–सरकार) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
२. संसद् भवन परिसरमा प्रवेशलगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने।
३. संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएकामा उक्त अध्यादेश जारी गर्न पुनः सिफारिस गर्ने।
४. परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धिका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियत ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने।

