काठमाडौँ । संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सुरु गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा उपस्थिति अभिलेखनलाई विद्युतीय प्रणालीमार्फत व्यवस्थित गर्ने उद्देश्यले यो प्रक्रिया थालिएको हो ।
संघीय संसद्का अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, विकास, आर्थिक मामिला तथा सुशासन, अर्थ, तथा विधायन व्यवस्थापन समितिका सदस्यहरूको विवरण संकलन कार्य पूरा भइसकेको छ ।
त्यस्तै, उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्यहरूको विवरण संकलन जारी रहेको संसद् सचिवालयले जनाएको छ ।
शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, पूर्वाधार विकास, सार्वजनिक नीति तथा प्रत्योजित विधायन, महिला तथा सामाजिक मामिला, तथा राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन गरिनेछ ।

