काठमाडौँ । पूर्वसञ्चारमन्त्री तथा रास्वपा सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै सत्य बाहिर आउने विश्वास व्यक्त गरेका छन् । सञ्चारमन्त्री रहँदा स्मार्ट टेलिकमको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपसहित समाचार प्रकाशित भएपछि उनले प्रतिक्रिया दिएका हुन् ।
‘गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यका लागि पर्याप्त छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ललितपुर–२ बाट प्रत्यक्ष निर्वाचित खरेलले आफूविरुद्ध भ्रामक, नियोजित र कपोलकल्पित प्रहार गरिएको भन्दै आफ्नो चरित्र र राजनीतिक भविष्यमा आघात पुर्याउने प्रयास नगर्न आग्रह गरेका छन् ।

