काठमाडाैं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्न सरकारले सूचना जारी गरेपछि नेकपा एमालेले नयाँ कार्यालयको खोजी सुरु गरेको छ ।
भूमि व्यवस्था मन्त्रालयले भोगाधिकारमा दिइएको तर लिजमा रूपान्तरण नभएको जग्गा खाली गर्न निर्देशन दिएपछि च्यासलस्थित कार्यालय पनि खाली गर्नुपर्ने अवस्था आएको हो ।
एमाले स्रोतका अनुसार आधिकारिक पत्र नआए पनि सरकारी सूचनाअनुसार भवन खाली गर्नुपर्ने देखिएको छ र पार्टीले वैकल्पिक कार्यालय खोज्ने प्रक्रिया अघि बढाइसकेको छ ।
प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले भने भवन कानुनअनुसार प्रयोग भइरहेको दाबी गरेका छन् । उनका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार जग्गा प्राप्त भएको र ५० वर्षका लागि लिजमा लिन खोज्दा सरकारले स्वीकृति नदिएको हो । उनले भवन निर्माणमा सरकारी सहयोग पनि रहेको उल्लेख गर्दै अन्य प्रतिष्ठानहरू पनि यस्तै समस्यामा परेको बताए ।
एमाले २०७८ सालदेखि च्यासलस्थित भवनमा कार्यालय सञ्चालन गर्दै आएको हो । भूकम्पपछि बल्खुबाट सरेको पार्टीले धुम्बाराही, थापाथली हुँदै च्यासलमा कार्यालय राखेको थियो । यसअघि नयाँ पार्टी कार्यालय निर्माणका लागि शिलान्यास भए पनि आन्तरिक विवादका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

