काठमाडौँ । स्थानीय तहले दीर्घकालीन विकास योजनामा केन्द्रित भएर काम गर्नुपर्नेमा शिशिर खनाल ले जोड दिएका छन् ।
टोखा नगरपालिकाको नीति तथा कार्यक्रम तयारीका लागि आयोजित सुझाव सङ्कलन कार्यक्रममा उनले विकास योजनालाई राजनीतिक स्वार्थभन्दा माथि उठाउन आग्रह गरे ।
उनले अहिलेका जनप्रतिनिधिले आगामी पुस्ताले पनि सम्झिने काम गर्ने अवसर पाएको उल्लेख गर्दै योजनाबद्ध सहरी विकास आवश्यक रहेको बताए ।’
टोखाको दक्षिणी क्षेत्र अत्यधिक बाक्लो बस्ती भएको र उत्तरी क्षेत्रमा खुला जमिन बाँकी रहेकाले सन्तुलित विकास आवश्यक रहेको उनको भनाइ थियो ।
मन्त्री खनालले टोखाको सांस्कृतिक पहिचान संरक्षण गर्दै पर्यटन विस्तार गर्नुपर्ने बताए । उनले होमस्टे विकास, परम्परागत बजार व्यवस्थापन तथा ऐतिहासिक नेवारी बस्ती संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।
त्यसैगरी, नगरपालिकाका सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत सहज बनाइनुपर्ने उनले बताए । कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारी ले जनताको सुझावलाई समेटेर आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरिने जानकारी दिए ।

