विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सचेतना आवश्यक : मुख्यमन्त्री पाण्डे

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमै नियमित सचेतना र पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्की र सुरक्षा निकायहरूको संयुक्त आयोजनामा पोखरामा सम्पन्न कृत्रिम उद्धार अभ्यास कार्यक्रममा बोल्दै उनले विपद्को समयमा हुने मानवीय तथा भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासको महत्त्वपूर्ण भूमिका रहने बताए ।

मुख्यमन्त्री पाण्डेले जोखिमलाई ध्यानमा राख्दै प्रदेश सरकारले विपद् व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

पोखरा तालैतालको शहर तथा नेपालको पर्यटकीय राजधानीका रूपमा परिचित रहेको उल्लेख गर्दै उनले यसले पर्यटन र आर्थिक गतिविधिमा ठूलो योगदान पुर्‍याएको बताए ।

पर्यटकीय क्षेत्रमा सम्भावित दुर्घटना रोक्न तथा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको तत्परता र उद्धार क्षमता अझ सुदृढ हुनुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको