काठमाडौँ । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा पुँजीगत खर्चको न्यूनतम एक प्रतिशत बजेट विनियोजन गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नवउद्यम, स्टार्टअप र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाइने बताउनुभयो ।
उहाँले नवउद्यमलाई सीप, बजार र वित्तीय पहुँचसँग जोड्दै कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिकता तथा डिजिटल दर्ता प्रणालीमार्फत सहज वातावरण बनाइने जानकारी दिनुभयो ।
बजेटमा प्रारम्भिक चरणका उद्यमलाई अनुदान, सम्भाव्यता प्रमाणित उद्यमलाई सहुलियतपूर्ण कर्जा र विस्तार चरणका लागि वृद्धि पुँजी उपलब्ध गराइने उल्लेख छ । साथै, बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा व्यवस्थापनका लागि विशेष अधिकारसहित ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ पुस मसान्तसम्म स्थापना गरिने भएको छ ।

