काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको बताएका छन्। साथै, भारतले मात्र नभई नेपालले पनि भारतको केही भूभाग उपयोग गरिरहेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि पाएको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादबारे उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।
उनले भने, “तपाईंहरूलाई अचम्म लाग्न सक्छ, तर प्रधानमन्त्री भएपछि मैले थाहा पाएँ कि भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको केही जग्गा उपयोग गरिरहेको रहेछ।”
प्रधानमन्त्री शाहले सीमा विवादको वास्तविक अवस्था पहिचान गर्न नेपाल र भारतबीच संयुक्त अध्ययन आवश्यक रहेको उल्लेख गरे। उनले दुवै देशबीच रहेका सीमा सम्बन्धी विषयहरू मित्रवत् संवाद र कूटनीतिक पहलमार्फत समाधान गर्ने सरकारको नीति रहेको बताए।
उनका अनुसार सीमा क्षेत्रमा देखिएका समस्याहरू तथ्यमा आधारित अध्ययन र आपसी समझदारीका आधारमा टुङ्ग्याउन सरकार प्रतिबद्ध छ।

