कांग्रेसले क्रियाशील सदस्यको डिजिटल अद्यावधिकको म्याद जेठ २८ सम्म बढायो

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको डिजिटल अद्यावधिक (डिजिटल्ली अपडेट) गर्ने कार्यका लागि थप समय दिएको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले यसअघि समय थप नगर्ने बताएको भए पनि अन्ततः जेठ २८ गते रातिसम्म म्याद बढाउने निर्णय गरेको हो।

यसअघि समितिले बिहीबारसम्मका लागि समय दिएको थियो। वैशाख ३१ गते बसेको समितिको बैठकले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा अद्यावधिकसम्बन्धी सबै प्रक्रिया जेठ २१ भित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो।

१५औँ महाधिवेशनलाई लक्षित गर्दै नवीकरण गरिएका क्रियाशील सदस्यहरूले अनिवार्य रूपमा डिजिटल अद्यावधिक गर्नुपर्ने व्यवस्था समितिले गरेको छ। तर, निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले नवीकरण गरिसकेका सदस्यलाई पुनः अद्यावधिक गर्न आवश्यक नरहेको अडान राख्दै आएका छन्।

यस विवादका कारण १४औँ महाधिवेशनमा रहेका ८ लाख ७० हजारभन्दा बढी क्रियाशील सदस्यमध्ये हालसम्म करिब आधाले मात्रै डिजिटल अद्यावधिक गरेका छन्। कांग्रेसले विशेष महाधिवेशनको तयारीअघि १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण अभियान सञ्चालन गरेको थियो, जसअन्तर्गत करिब ४ लाख ५० हजार सदस्यले नवीकरण गरिसकेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको