गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासनका लागि सरकार निरन्तर रूपमा सक्रिय रहेको बताएका छन्।
गोरखामा आयोजित रास्वपाको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले विकास निर्माणका मुद्दामा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे।
“रास्वपालाई जनताले दिएको मत अरु दलसँग झगडा गर्न होइन,” उनले भने, “सबै मिलेर काम गरे मात्र राम्रो नतिजा आउँछ।”
उनले गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि पहल भइरहेको जानकारी दिँदै अर्थ मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए। उद्योगलाई निजी क्षेत्रको लगानीमा वा सार्वजनिक–निजी साझेदारीमार्फत सञ्चालन गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ।
बुर्लाकोटीले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन आगामी बजेटमा केही विनियोजन गरिएको उल्लेख गर्दै आयोजनाका लागि अधिकारसम्पन्न प्राधिकरण गठनको तयारी भइरहेको बताए।
उनका अनुसार रेमिट्यान्स मात्रमा निर्भर अर्थतन्त्रले दीर्घकालीन समृद्धि हासिल गर्न नसक्ने भएकाले देशभित्रै उद्योग र उत्पादन वृद्धि गर्न सरकार केन्द्रित रहेको छ। आगामी बजेट पनि विकास, निर्माण र आर्थिक समृद्धितर्फ उन्मुख रहेको उनले बताए।

