काठमाडौँ । प्रतिनिधिसभाका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं संसद्को रोस्ट्रममा उपस्थित भएर जवाफ दिनुपर्ने अडान दोहोर्याएका छन्।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सोमबार बसेको सर्वदलीय बैठकमा विपक्षी दलका नेता तथा सांसदहरूले प्रधानमन्त्रीले छोटो समयका लागि भए पनि संसद्मा उपस्थित भई आफ्नो धारणा राख्नुपर्ने बताएका हुन्।
बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले “एक मिनेट भए पनि संसद्मा आएर जवाफ दिनुपर्ने” बताए।
नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले असहमति जनाउँदै उक्त भनाइ सच्याउन वा त्यसको प्रमाण प्रस्तुत गर्न माग गरेका छन्।
बैठक आह्वानकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भने परराष्ट्र सम्बन्धी विषय भएकाले संसद्मा परराष्ट्रमन्त्रीले धारणा राख्ने जानकारी दिएका थिए। त्यसमा नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले “परराष्ट्रमन्त्री बोल्न हुने, प्रधानमन्त्री किन नहुने?” भन्दै प्रश्न उठाएका थिए।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले वैदेशिक मामिलामा परिपक्व व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै सरकारका कमजोरीको भार अन्ततः देशले नै व्यहोर्नुपर्ने बताएका छन्।
विपक्षी दलहरूले यस दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको अभिव्यक्ति तथा प्रतिनिधिसभा नियमावलीसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले निरन्तर संसद् अवरोध गर्दै आएका छन्।
उनीहरूले प्रतिनिधिसभा नियमावली जबर्जस्ती पारित गरिएको आरोप लगाउँदै सभामुख डोलप्रसाद (डीपी) अर्यालप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्।

