काठमाडौँ । यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। कर्णाली भने लगातार दोस्रो खेलमा पराजित भएको छ।
कालुङचोक मैदानमा भएको खेलमा कर्णालीले चार विकेट गुमाएर १०३ रन बनाएको थियो। कप्तान तिर्सना विश्वकर्माले अविजित ४९ रन तथा उमा चौधरीले २९ रनको योगदान दिइन्।
१०४ रनको लक्ष्य पछ्याएको मधेसले ९.१ ओभरमै एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। सना प्रविनले अविजित ४४ रन र अलिशा यादवले ४७ रन बनाएर टोलीलाई सहज जित दिलाए।
अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले हराउँदै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्यो। यस जितसँगै सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ।

