काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि करका दर हेरफेर गरेको आरोप लगाउँदै घटनाबारे छानबिन समिति गठन गर्न माग गरेका छन्।
मंगलबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा सांसद तुलप्रसाद विश्वकर्माले आर्थिक विधेयकसँग सम्बन्धित विषयमा स्पष्टता माग गरे। उनले संसद्मा प्रस्तुत भएको २४ घण्टा नबित्दै विधेयकका केही पृष्ठ हटाएर संशोधित विधेयक सार्वजनिक गरिएको भन्ने समाचारप्रति सरकारको ध्यानाकर्षण गराए।
त्यसैगरी, सांसद रेनु चन्दले अर्थमन्त्री वाग्लेले करका दरमा हेरफेर गरेको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि समिति गठन गर्नुपर्नेमा जोड दिइन्।
बैठकमा सांसद नारायणदत्त मिश्र र मीनासिंह रखालले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सम्बन्धबारे दिएको अभिव्यक्तिका विषयमा संसद्मा आएर जवाफ दिनुपर्ने माग पनि गरेका छन्।
राष्ट्रियसभाको अर्को बैठक जेठ २८ गते अपराह्न १ बजे बस्ने तय गरिएको छ।

