काठमाडौँ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे स्पष्टीकरण प्रधानमन्त्री स्वयंले दिनुपर्ने बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले धारणा राख्ने कुरामा आफ्नो दलको सहमति नरहेको बताए। “जुन निर्णयप्रति हामीले विरोध गरेका छौँ, त्यसबारे प्रधानमन्त्री पदलाई नै जिम्मेवार बनाउन खोजेका हौँ,” उनले भने।
साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति अरू कसैले सच्याउने वा व्याख्या गर्ने कुरा स्वीकार्य नहुने धारणा राखे। प्रधानमन्त्री सदनमा उपस्थित हुन नसके हस्ताक्षर गरिएको लिखित स्पष्टीकरण परराष्ट्रमन्त्रीले पढेर सुनाउन सक्ने उनले बताए।
उनले राज्यका सबै निकाय र पदाधिकारी संविधानअनुसार चल्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले पनि आफ्नो अभिव्यक्तिप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।

