काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले भारतको भूमि मिचेको भन्ने तर्क गर्ने सत्ता पक्षका केही सांसदप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालले कसैको भूमि अतिक्रमण नगरेको स्पष्ट पार्दै उल्टै नेपालले भारतको सीमा मिचेको हो भनेर प्रमाणित गर्न खोज्ने सांसदहरू देख्दा आफू लज्जित भएको बताए।
उनले देश र जनताले नरुचाउने यस्ता गतिविधि गर्ने सांसदहरूलाई इतिहासले समेत क्षमा नगर्ने टिप्पणी गरे। लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग भएको कुरा विश्व समुदायलाई थाहा रहेको उल्लेख गर्दै उनले सीमा विवादको समाधान गम्भीर कूटनीतिक संवादमार्फत गर्नुपर्ने धारणा राखे।
आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि प्रश्न गर्दै भारत भ्रमणका क्रममा सीमा विवादको विषय किन नउठाएको भनी जिज्ञासा राखे। “सीमाबारे ढोल बजाएर छलफल हुँदैन भन्नुभयो, त्यो ठीक हो। तर दिल्लीमा रहँदा सीमा र कालापानीको विषय किन उच्चारण गर्नुभएन ?” उनले प्रश्न गरे।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे भारतमै परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएको विषयमा समेत आपत्ति जनाएका छन्।

