काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी विषयमा संसद्मा दिएको अभिव्यक्ति अभिलेखबाट हटाउन पुनः माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साम्पाङले उक्त अभिव्यक्ति हटाउनेबारे सभामुखको निर्णयको प्रतीक्षा भइरहेको बताए। उनले प्रधानमन्त्रीको विवादित भनिएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन आफूहरूको माग यथावत रहेको उल्लेख गरे।
“प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो। सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ भनेर हामी प्रतीक्षामा छौँ,” साम्पाङले भने।
सांसद साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बाट भएको भनिएको हस्तक्षेप र नेपाली नागरिकमाथिको धाकधम्कीप्रति पनि आपत्ति जनाए। साथै, उक्त घटनाको विरोध गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अजय सोदारी र बिरजन विकलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको ध्यानाकर्षण गराए।
देशभक्त भावनाका साथ विरोध प्रदर्शनमा सहभागी युवामाथि झुटा मुद्दा लगाउने प्रयास भएको दाबी गर्दै उनले गृहमन्त्री सुधन गुरुङसँग उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरे।

