पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पपुलिजम र लोकरिझ्याइँका नाराले देशलाई सही दिशा दिन नसक्ने बताएका छन्।

एमाले प्रचार तथा प्रकाशन विभागको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले क्षणिक रूपमा जनतालाई आकर्षित गर्ने पपुलिस्ट विचार र नाराले दीर्घकालीन रूपमा समाजलाई गलत दिशातर्फ लैजाने चेतावनी दिए। “जनतालाई मनपर्ने कुरा मात्र गरेर भ्रम सिर्जना गर्ने प्रवृत्तिले समाजलाई दिग्भ्रमित बनाइरहेको छ, तर यस्तो अवस्था लामो समय टिक्दैन,” उनले भने।

महासचिव पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण अभियानमार्फत एमालेलाई अझ बलियो बनाइने बताए। पार्टी सुदृढीकरणका लागि गठन गरिएको कार्यदलले काम सुरु गरिसकेको उल्लेख गर्दै त्यसको निष्कर्षका आधारमा संगठनलाई थप मजबुत बनाइने उनको भनाइ थियो।

उनले पछिल्ला निर्वाचनमा एमालेको विपक्षमा जनमत देखिएको स्वीकार गर्दै जनतासँगको सम्बन्ध कमजोर हुनु त्यसको प्रमुख कारण रहेको बताए। “हामी जनतासँग पर्याप्त रूपमा जोडिन सकेनौँ। अब एमाले प्रत्यक्ष रूपमा जनतासँग जोडिएर अघि बढ्छ,” पोखरेलले स्पष्ट पारे।

कार्यक्रममा प्रचार विभागका पूर्व प्रमुख राजेन्द्र गौतमले वर्तमान प्रमुख निरज आचार्यलाई अघिल्लो कार्यकालको बैठक पुस्तिका हस्तान्तरण गरेका थिए। कार्यक्रममा विभागका पूर्व प्रमुखहरू सूर्य थापा, मीनबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको