काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा पूर्वाधार सुधारका विषयमा विस्तृत छलफल भएको छ। बैठकमा सहभागी सांसद र विज्ञहरूले बढ्दो सडक दुर्घटना नियन्त्रणका लागि प्रभावकारी नीति कार्यान्वयन र पूर्वाधार विकासमा जोड दिएका छन्।
समिति सभापति आशिष गजुरेलले प्राप्त सुझावहरू कार्यान्वयनमा लैजान समितिले आवश्यक सहजीकरण गर्ने बताए। उनले सडक सुरक्षा अत्यन्त संवेदनशील विषय भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
सडक सुरक्षासम्बन्धी विधेयक बनेको पाँच वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसकेको उल्लेख गर्दै उनले सडक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले समस्या थप जटिल बनाएको बताए। साथै, एकीकृत यातायात नीति भए पनि सम्बन्धित मन्त्रालय हटाइएको विषयप्रति समेत उनले चासो व्यक्त गरे।
बैठकमा सांसदहरूले अव्यवस्थित सडक निर्माण, मर्मतमा ढिलाइ, निकायहरूबीच समन्वयको अभाव, सडक अनुमति प्रक्रियाको जटिलता तथा अपाङ्गमैत्री पूर्वाधारको कमीले दुर्घटनाको जोखिम बढाएको बताएका थिए।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायातका लागि छुट्टै लेन, व्यवस्थित पार्किङ र दक्ष चालकको आवश्यकता औँल्याए भने ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष अरुणकुमार श्रेष्ठले मालवाहक सवारीको निगरानी तथा सुरक्षा प्रणाली सुधार गर्नुपर्नेमा जोड दिए।
समितिले सडक सुरक्षासम्बन्धी सुधारका लागि विज्ञ तथा सरोकारवालाबाट सुझाव संकलन गरेको जनाएको छ।

