काठमाडौं । चितवनका होटल व्यवसायीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, पर्यवेक्षक तथा पाहुनाको स्वागत–सत्कारमा कुनै कमी हुन नदिने बताएका छन्।
आगामी असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनलाई लक्षित गर्दै होटल व्यवसायी सङ्घ चितवनले आवासमा २५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ। छुटको सुविधा भरतपुर महानगरपालिका र गैँडाकोट क्षेत्रका होटल तथा रेष्टुरेन्टमा उपलब्ध हुनेछ।
होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष ऋषिकेश अर्यालका अनुसार पाहुनाले छुट पाए–नपाएको अनुगमन गर्न विशेष समिति समेत गठन गरिएको छ। क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले सङ्घअन्तर्गतका होटलहरूको क्षमता करिब १० हजार जनासम्म रहेको जानकारी दिए।
रास्वपाको आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र पर्यवेक्षकले चितवनका तीन हजारभन्दा बढी होटल कोठा प्रयोग गर्ने अपेक्षा गरिएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले भने आफ्नो आवास खर्च स्वयं व्यहोर्ने व्यवस्था गरिएको छ।

