काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई आगामी असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गरिने बताएकी छन्।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सरकारले भूमिहीन र सुकुम्बासीको समस्या समाधानलाई प्राथमिकतामा राखेको जानकारी दिइन्।
उनका अनुसार विगत ३० वर्षमा प्राप्त १२ लाख निवेदनमध्ये करिब ९ हजार जनाले मात्र लालपुर्जा प्राप्त गरेका छन्। यो अवस्थालाई परिवर्तन गर्न सरकारले प्रक्रिया तीव्र बनाएको उनले बताइन्।
मन्त्री रावलले सहकारी क्षेत्रको समस्या समाधानका लागि राज्यकोषको रकम प्रयोग नगरिएको उल्लेख गर्दै पछिल्ला तीन महिनामा १ हजार ४५२ बचतकर्तालाई करिब ५९ लाख रुपैयाँ फिर्ता गरिएको जानकारी दिइन्। साथै ३ करोड ५० लाख रुपैयाँभन्दा बढी ऋण असुली भएको पनि उनले बताइन्।

