काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर सरकारविरुद्ध विरोध जनाएका छन्। उनीहरूले आफूहरूले उठाउँदै आएका मागहरू कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
विरोधपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए।
यस क्रममा नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन, मानवअधिकारसम्बन्धी प्रतिवेदन तथा अन्य महत्वपूर्ण विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएको गुनासो गरे।
नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति असहमति जनाइन्। एमालेकै सांसद ऐन महरले संसद्को गरिमा कायम राख्नु सरकार र सांसद दुवैको साझा जिम्मेवारी भएको बताए।
नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले प्रतिपक्षी दलहरूले संसद्मा उठाएका प्रश्नहरूको उचित सम्बोधन हुन नसकेको आरोप लगाए।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ) ले नेपालमा रहेका भुटानी शरणार्थीका माग तथा समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले पेट्रोलियम पदार्थको मूल्य घटाई उपभोक्तामाथि थप आर्थिक भार पर्न नदिन सरकारको ध्यानाकर्षण गराए।

