काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।
बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै महराले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिक जीवनबाट विश्राम लिने निर्णय गरेको बताएका हुन्। उनले भने नेकपाको साधारण सदस्यका रूपमा भने आबद्ध रहिरहने उल्लेख गरेका छन्।
जन्मदिनको अवसर पारेर जारी गरेको वक्तव्यमा महराले आफू ७०औँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएकाले सक्रिय राजनीतिबाट अलग हुने निर्णय गरेको बताएका छन्।
उनले आफ्नो राजनीतिक यात्राका क्रममा साथ, सहयोग, विश्वास र माया प्रदान गर्ने परिवार, मित्र, शुभेच्छुक तथा सहकर्मीहरूप्रति आभार व्यक्त गर्दै सबैप्रति आफू सधैं ऋणी रहने बताएका छन्।

