काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
चितवनमा जारी पार्टीको महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परिणाम जे आए पनि महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन्।
‘परिणाम जे आए पनि म महामन्त्रीमा भिड्न तयार छु,’ झाले भने, ‘अहिलेको व्यवस्थापन हेर्दा पार्टीलाई अनुभवी नेतृत्व आवश्यक छ। मैले महामन्त्री पदको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्छु भन्ने विश्वास छ।’
उनले महामन्त्री पदमा उम्मेदवारी दिन नेता तथा कार्यकर्ताहरूबाट पनि सुझाव र समर्थन प्राप्त भएको बताए।
रास्वपाको प्रथम महाधिवेशन जारी रहेका बेला झाको उम्मेदवारी घोषणालाई पार्टीको नेतृत्व चयन प्रक्रियामा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

