विश्वप्रकाश शर्माको प्रश्न: राष्ट्रियता, लोकतन्त्र र सुशासनमा रास्वपा स्पष्ट हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रियता, लोकतन्त्र र सुशासनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

मंगलबार कांग्रेस झापाको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले रास्वपाको प्रथम महाधिवेशनले यी विषयमा स्पष्ट राजनीतिक दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताए। यदि त्यसो हुन नसके प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे पनि रास्वपाले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

शर्माले रास्वपाको आधिकारिक दस्तावेजमार्फत राष्ट्रियतासम्बन्धी विषयमा पार्टीको स्पष्ट दृष्टिकोण आउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइसँग पार्टी सहमत छ वा छैन भन्ने प्रश्न उठाए।

उनले भने, “रास्वपा मान्दछ, प्रधानमन्त्रीले भनेझैँ नेपालले भारतको सीमा मिचेको छ ? हो भने कहाँ–कहाँ ? रास्वपाको दस्ताबेज बोलोस्। प्रधानमन्त्रीको धारणाउपर पार्टीको कुनै लिखित धारणा महाधिवेशनमा बन्दैन भने पार्टी नेतृत्व र प्रतिनिधिले आफैँलाई सोध्नुपर्छ, प्रधानमन्त्रीका अगाडि रास्वपा नामक दलको के कुनै अर्थ छ ?”

उपसभापति शर्माले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे पनि प्रश्न उठाउँदै सुशासनको पक्षमा उभिने दलले आफ्ना नेतृत्वको सम्पत्तिको स्रोत स्पष्ट गर्नुपर्ने बताए।

उनले प्रश्न गरे, “प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिमा देखिएको तोलाका तोला सुनको स्रोत के हो ? रास्वपाको महाधिवेशनले त्यो स्रोत स्पष्ट गर्न आफ्ना मन्त्री र प्रधानमन्त्रीलाई निर्देशन दिने प्रस्ताव दस्ताबेजमा लेख्छ कि लेख्दैन ?”

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको