काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत अद्यावधिक नगर्ने व्यक्तिलाई कांग्रेसले आधिकारिक सदस्यका रूपमा नचिन्ने बताएका छन्।
मंगलबार झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सदस्यता अद्यावधिक नगरेका व्यक्तिहरू नयाँ डिजिटल प्रणालीमा स्वतः समावेश नहुने बताए। उनले अद्यावधिक नगरिएका सदस्यलाई पार्टीले सम्मान र माया गरे पनि संगठनात्मक रूपमा सदस्यको मान्यता नदिने स्पष्ट पारे।
‘अद्यावधिक नगरेका साथीहरूलाई कांग्रेसले सम्मान गर्छ, माया गर्छ। तर पार्टी सदस्यका रूपमा चिन्दैन। व्यक्तिगत रूपमा म जय नेपाल भन्छु, तर अब सिस्टमले नै चिन्दैन। भोट हाल्ने बेला वडाको सूचीमा नाम आउँदैन,’ थापाले भने।
कांग्रेसभित्र निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका केही नेताहरूले भने अझै क्रियाशील सदस्यता अद्यावधिक नगरेको बताइएको छ।

