काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा उम्मेदवारको अन्तिम सूची सार्वजनिक हुन नसक्दा विद्युतीय मतदान प्रक्रिया थप ढिलाइ हुने भएको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदान बिहान ९ बजेदेखि सुरु हुने बताएका थिए। तर हालसम्म उम्मेदवारको प्रारम्भिक नामावलीसमेत सार्वजनिक नभएको अवस्थामा मतदान प्रक्रिया निर्धारित समयमा सुरु हुन नसक्ने देखिएको छ।
निर्वाचन आयोगले बिहान साढे १० बजे प्रारम्भिक नामावली सार्वजनिक गर्ने जनाएको थियो। अन्तिम उम्मेदवार सूची प्रकाशन भएपछि उम्मेदवारहरूको फोटोसहितको विवरण विद्युतीय मतदान प्रणालीमा अपलोड गर्नुपर्ने हुन्छ।
आयोगका अनुसार विभिन्न पदका लागि करिब ४ सय जनाले उम्मेदवारी दर्ता गराएका छन्। यद्यपि उम्मेदवारको यकिन संख्या भने हालसम्म सार्वजनिक गरिएको छैन।
राम लक्ष्मण ई–भोटिङ मेसिनका संस्थापक राम रिमालका अनुसार उम्मेदवारको सूची प्राप्त भएपछि मतदान प्रणालीमा विवरण अपलोड गर्न ४ देखि ५ घण्टासम्म लाग्नेछ। उनले एक मतदाताले मतदान गर्न औसत १५ देखि १८ मिनेट समय लाग्ने जानकारी दिए।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा भइरहेको ढिलाइका कारण रास्वपाको महाधिवेशन तथा निर्वाचन प्रक्रिया अपेक्षाभन्दा लामो समयसम्म चल्ने सम्भावना देखिएको छ।

