राष्ट्रियसभामा भूकम्पपीडितदेखि सुकुम्बासीसम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा सांसदहरूले भूकम्पपीडितको पुनर्स्थापना, इन्धन मूल्यवृद्धि, शिक्षा–स्वास्थ्यमा कर, न्यून दृष्टियुक्त व्यक्तिको पुनर्स्थापना तथा सुकुम्बासी व्यवस्थापनलगायत जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

शून्य समयमा सांसद कृष्णबहादुर रोकायाले २०८० सालको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका ग्रामीण बस्तीमा अझै सुरक्षित आवास निर्माण हुन नसकेको भन्दै पुनर्निर्माणको काम तत्काल अघि बढाउन माग गरे।

सांसद घनश्याम रिजालले इन्धनको मूल्यवृद्धिका कारण विकास निर्माणका काम प्रभावित भएको उल्लेख गर्दै मूल्य समायोजन गर्न आग्रह गरे। सांसद पदमबहादुर परियारले न्यून दृष्टियुक्त व्यक्तिको माग सम्बोधन गर्दै पुनर्स्थापनाका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताए भने सांसद विष्णुदेवी पुडासैनीले शिक्षा र स्वास्थ्य क्षेत्रमा आम नागरिकलाई असर पर्ने गरी कर लगाउन नहुने धारणा राखिन्।

बैठकमा सुकुम्बासीको व्यवस्थापन पनि प्रमुख रूपमा उठ्यो। सांसद रेणु चन्द, विष्णुबहादुर विश्वकर्मा, श्रीकृष्ण अधिकारी र सावित्री मल्लले सुकुम्बासी समुदायको मानवअधिकारको सम्मान गर्दै उनीहरूको उचित व्यवस्थापन र संवैधानिक अधिकारअनुसार बसोबासको सुनिश्चितता गर्न सरकारसँग माग गरे। सांसद विष्णुकुमारी सापकोटाले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई उचित व्यवस्थाबिना बाहिर पठाउने सरकारी निर्णयप्रति असन्तुष्टि व्यक्त गरिन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको