काठमाडौँ । सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ।
वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको हो। मेहता साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका थिए। उपचारका क्रममा मंगलबार उनको निधन भएको थियो।
मेहताको मृत्यु भएपछि आफन्तहरूले शव बुझ्न अस्वीकार गर्दै गृहमन्त्री स्वयं अस्पताल आएर माग सम्बोधन गर्नुपर्ने अडान लिएका थिए। त्यसपछि गृहमन्त्री गुरुङ अस्पताल पुगेका हुन्।
यसअघि मंगलबार गृहमन्त्री गुरुङले गृह मन्त्रालयमा हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। छलफलमा पछिल्लो समय देशका विभिन्न क्षेत्रमा देखिएको तनाव, शान्ति–सुरक्षा तथा धार्मिक सद्भाव कायम गर्ने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

