काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न तथा आपूर्ति सहज बनाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो तथा सूचना आएपछि अनुगमनलाई कडाइ गरिएको हो।
उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बजार अनुगमनलाई निरन्तरता दिँदै प्रभावकारी बनाइएको छ भने ग्यासको आपूर्तिमा क्रमशः सहजता आउन थालेको छ।
कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा ग्यास बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न उद्योगमन्त्री गौरीकुमारी यादवले गृहमन्त्री सुधन गुरुङसँग काठमाडौं उपत्यकाका ग्यास डिपोमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरेकी थिइन्।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय र सहजीकरणका लागि निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ।

