काठमाडौं । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँमुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा परेका छन्।
सिस्नेखोलाको निरन्तर कटानबाट सुरु भएको पहिरो दिनप्रतिदिन फैलिँदै गएपछि स्थानीय बासिन्दा जोखिम मोलेरै गाउँमा बस्न बाध्य छन्। करिब डेढ दशकअघि सोही वडाको चुप्लु गाउँमा पहिरोले घरखेत बगाएपछि राईबहादुर राई ज्यान जोगाउन डाँडाखर्क पुगेर घर बनाएका थिए। अहिले त्यही पहिरो उनको घरको आँगनसम्म आइपुगेको छ।
“उतिबेला चुप्लुमा पहिरोले उठिबास लगायो, ज्यान जोगाउन यहाँ आएर घर बनाएँ, अहिले फेरि यहीँ घर बगाउने अवस्था आयो,” राईबहादुरले भने। उनका अनुसार हिउँद होस् वा वर्षा, पहिरो झर्न नछाड्दा स्थानीय रातभर त्रासमा बस्न बाध्य छन्।
पहिरोले घरबाससँगै स्थानीयको वर्षौँदेखिको मिहिनेत र सयौँ रोपनी खेतीयोग्य जमिनसमेत बगरमा परिणत गरिसकेको छ। खेतबारी नै बग्न थालेपछि स्थानीय किसानलाई जीविकोपार्जनको चिन्तासमेत थपिएको छ।
स्थानीय बीरकाजी राईका अनुसार पहिरो समयमै नियन्त्रण गर्न नसके डाँडाखर्कका पाँच घरमात्र नभई सिङ्गो बस्ती नै जोखिममा पर्ने अवस्था छ। उनका अनुसार गाउँका थप करिब ४० घरपरिवारसमेत पहिरोको जोखिममा छन्।
पहिरो नियन्त्रणका लागि स्थानीय बासिन्दाले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग पटक–पटक आग्रह गरे पनि प्रभावकारी काम हुन नसकेको गुनासो गरेका छन्। पहिरोले जग्गाजमिन बगाइसक्दा पनि भूमिकर तिर्नुपरेको तर राज्यबाट राहत तथा नियन्त्रणका लागि पर्याप्त पहल नभएको उनीहरूको दुखेसो छ।
डाँडाखर्कको समस्या ओखलढुङ्गाका दर्जनौँ स्थानमा देखिएको पहिरोको प्रतिनिधिमूलक उदाहरण हो। जिल्लाका विभिन्न क्षेत्रमा दशकौँदेखि ठूला पहिरोले स्थानीयलाई सताउँदै आएका छन्।
जोखिमयुक्त पहिरोको दीर्घकालीन प्राविधिक समाधान खोज्नुका साथै प्रभावित परिवारको सुरक्षित पुनःस्थापना र जीविकोपार्जनको संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले तत्काल पहल गर्नुपर्ने देखिएको छ।

