पोखरा । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपालमा रहेका भूतपूर्व भारतीय गोर्खा सैनिक तथा उनीहरूका परिवारका लागि स्वास्थ्य सेवा, कल्याणकारी कार्यक्रम र आवश्यक सुविधालाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
पोखरामा आयोजित पेन्सन क्याम्पलाई सम्बोधन गर्दै सेनाध्यक्ष सेठले भूतपूर्व सैनिकहरू भारत–नेपाल सम्बन्धका महत्वपूर्ण प्रतिनिधि भएको उल्लेख गर्दै उनीहरूको योगदान र सेवाको सम्मान गर्न भारतीय सेना सदैव प्रतिबद्ध रहेको बताए। भारतीय सेनामा गोर्खा सैनिकले पुर्याएको योगदान स्मरण गर्दै उनले भूतपूर्व सैनिकको हित संरक्षणलाई सेनाको दायित्वका रूपमा प्रस्तुत गरे।
स्वास्थ्य सेवातर्फ पोखरामा सञ्चालित ‘एक्स–सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्किम’ (ईसीएचएस) पोलिक्लिनिकलाई थप प्रभावकारी बनाउन आवश्यक आधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने पहल अघि बढाइने उनले जानकारी दिए। पोलिक्लिनिकको पूर्वाधार तथा उपचार क्षमता विस्तारका लागि थप उपकरण जडानमा काम गरिने उनको भनाइ थियो।
भूतपूर्व सैनिकले लामो समयदेखि उठाउँदै आएको सुनौली–गोरखपुर बस सेवाको मागमा पनि आवश्यक पहल भइरहेको सेठले बताए। बस सेवा सञ्चालन भए ईसीएचएसलगायत स्वास्थ्य सेवा लिन गोरखपुर जाने भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई आवतजावतमा सहज हुने उनले बताए।
नेपालमा सन् २०१४ देखि ईसीएचएस कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिँदै उनले यसको माध्यमबाट भारत र नेपालका विभिन्न सूचीकृत अस्पतालमा भूतपूर्व सैनिक तथा आश्रित परिवारले उपचार सुविधा पाइरहेको बताए। स्वास्थ्य सेवाको पहुँच थप विस्तार गर्न थप अस्पताललाई ईसीएचएसको सञ्जालमा समेट्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए।
पश्चिम नेपालका सेवाग्राहीलाई लक्षित गरी कोहलपुरमा ईसीएचएस पोलिक्लिनिक सञ्चालनमा ल्याइएको उल्लेख गर्दै सेठले त्यसबाट सो क्षेत्रका भूतपूर्व सैनिक तथा उनीहरूका परिवारले स्थानीयस्तरमै स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा व्यक्त गरे।
कल्याणकारी कार्यक्रमअन्तर्गत विभिन्न जिल्ला सैनिक बोर्डमार्फत भूतपूर्व सैनिकका परिवारका सदस्यलाई कम्प्युटर, ब्युटिसियन, फेसन डिजाइनिङलगायत सीपमूलक तालिम उपलब्ध गराउँदै आएको उनले बताए। सिक्किमस्थित मेघाभी स्किल्स युनिभर्सिटीसँगको सहकार्यपछि ती तालिमबाट प्राप्त प्रमाणपत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त हुने व्यवस्था गरिएको उनको भनाइ थियो।
सेठले भारत र नेपालबीचको सम्बन्ध राजनीतिक वा भौगोलिक सीमामा मात्र सीमित नभई साझा संस्कृति, परम्परा, धार्मिक विश्वास र इतिहाससँग समेत जोडिएको बताए। दुवै देशका सेनाबीच कायम विशेष सम्बन्ध पनि यही ऐतिहासिक निकटताको महत्वपूर्ण आधार भएको उनले उल्लेख गरे।
भारतीय सेनामा गोर्खा सैनिकले विभिन्न युद्ध तथा चुनौतीका समयमा प्रदर्शन गरेको साहस, समर्पण र त्यागको प्रशंसा गर्दै सेनाध्यक्ष सेठले उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरे। भारतीय सेनामा कार्यरत सैनिकदेखि अवकाशप्राप्त सैनिकसम्मलाई आफूले ‘योद्धा’का रूपमा हेर्ने गरेको उनले बताए।
सेनाध्यक्षको जिम्मेवारी सम्हालेपछि भारतीय सेनाका लागि तय गरेका पाँच प्रमुख प्राथमिकताबारे पनि उनले जानकारी दिए। सैन्य तयारी तथा सतर्कता, नवीनता र रूपान्तरण, संयुक्तता, आत्मनिर्भरता तथा ‘योद्धा’को अवधारणालाई प्राथमिकतामा राखिएको उनले बताए।
भूतपूर्व सैनिकले भारतको सेवामा दिएको योगदानप्रति भारतीय सेना गौरवान्वित रहेको उल्लेख गर्दै सेठले आगामी दिनमा पनि उनीहरूको कल्याण, स्वास्थ्य र सुविधाका विषयमा आवश्यक सहयोग तथा पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा उनले भूतपूर्व सैनिक तथा उनीहरूका परिवारप्रति आभार व्यक्त गर्दै ‘जय हिन्द, जय नेपाल, जय भूपू’ नारासहित आफ्नो सम्बोधन टुंग्याएका थिए।

