काठमाडौँ । सरकारले विद्युत् महसुल घटाउने गृहकार्य तीव्र पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरेपछि नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी अघि बढाएको हो।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक बुधबार बस्दैछ। ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा विज्ञ, उपभोक्ता तथा वित्त विज्ञ सदस्य रहेको समितिको बैठक अपराह्न ४ बजे मन्त्रालयमा बस्नेछ। बैठकमा विद्युत् महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ।
समिति संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्दा ठूलो परिमाणमा बिजुली खेर गइरहेको अवस्थालाई ध्यानमा राख्दै आन्तरिक विद्युत् खपत बढाउन महसुल पुनरावलोकन गर्न लागिएको हो।
वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको भन्दै उनले ‘सिजनल ट्यारिफ’मार्फत उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराएर खपत बढाउने तयारी भइरहेको बताए।
उद्योगहरूलाई समेत वर्षायामको विद्युत् सस्तो दरमा उपलब्ध गराउने तयारी रहेको शाहीले जानकारी दिए। उद्योगले सस्तो विद्युत् पाएपछि उनीहरूले उत्पादन गर्ने वस्तु तथा सेवा उपभोक्तालाई कति सस्तोमा उपलब्ध गराउन सक्छन् भन्ने विषयमा पनि समन्वय भइरहेको उनले बताए।
‘सिजनल ट्यारिफ गर्दा पैसा कसरी घटाउन सकिन्छ भनेर आज मन्त्रालयमा बैठक बस्दैछ। वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगहरूले पनि आफ्नो उत्पादनमा उपभोक्तालाई कसरी सहुलियत दिन्छन् भनेर छलफल भएको छ,’ शाहीले भने, ‘हामी छिटै निर्णय गर्छौं।’
सरकारले विद्युत्को कर तथा महसुल बढाएको भन्दै आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले उपभोक्तालाई सहुलियत दिने उपाय खोजिरहेको हो। यसका लागि प्राधिकरणले समिति गठन गरेर महसुल पुनरावलोकन तथा सिजनल ट्यारिफ कार्यान्वयनको गृहकार्य अघि बढाएको छ।

