दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको चाप घट्दै गएपछि शनिबारको सेवा बन्द गरी आइतबारदेखि शुक्रबारसम्म मात्रै सेवा सञ्चालन गर्ने जनाएको हो।
कार्यालयका अनुसार यसअघि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता, विवरण संशोधन तथा कार्ड वितरणका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा समेत सेवा दिइँदै आएको थियो।
तर पछिल्लो समय सेवाग्राहीको चाप क्रमशः घट्दै गएपछि भदौ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्म आइतबारदेखि शुक्रबारसम्म मात्रै सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउने सेवाग्राहीलाई परिवर्तित समयअनुसार कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

