धनुषा । धनुषाको जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु गरिएको छ। शनिबार बिहानदेखि पोखरीका अतिक्रमित डिल हटाउन थालिएको हो।
पहिलो चरणमा ५० मध्ये सात वटा पोखरीका अतिक्रमित डिल खाली गराउने योजना रहेको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ। त्यसपछि दोस्रो चरणमा मन्दिर परिसरका अतिक्रमित जग्गा र तेस्रो चरणमा अन्य स्थानमा भएको अतिक्रमण हटाइनेछ।
उपमहानगरपालिकाका अनुसार पोखरीनजिक घर भएका स्थानीयले पछाडिपट्टिबाट सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण गरेका छन्। पटक–पटक सूचना दिँदा पनि संरचना नहटाएपछि डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाउन थालिएको हो।
अतिक्रमित जग्गा खाली गर्न गत साउन १ गते सूचना जारी गरिएको थियो भने शुक्रबार भदौ ५ गते जनकपुर नगर क्षेत्रमा माइकिङ गरी अतिक्रमित संरचना हटाउन आग्रह गरिएको थियो।

