काठमाडौँ । भक्तपुरमा योगलाई संगठित र संस्थागत रूपमा स्थापित गरेको दुई दशक पूरा भएको अवसरमा सूर्यविनायकस्थित शुभकामना सामूहिक योग साधना केन्द्रले सोमबार आफ्नो २०औँ स्थापना दिवस तथा वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
पातञ्जल योग समिति नेपालको आयोजनामा भएको कार्यक्रममा प्रारम्भिक योग प्रशिक्षक तालिम उत्तीर्ण गरेका ३३ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा योगको २० वर्षे यात्राका साथै संस्थापक सदस्यहरूको योगदान र आगामी योजनाबारे चर्चा गरिएको थियो।
कार्यक्रममा पातञ्जल योग समिति नेपालका प्रमुख संरक्षक डा. चन्द्रमणि खनाल, संस्थापक एवं अध्यक्ष सुदर्शन सुवेदी, महासचिव नवराज काफ्लेलगायतको सहभागिता रहेको थियो। कलाकार टोलीले सांगीतिक सत्सङ्गसमेत प्रस्तुत गरेको थियो।

