काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटको विदुर पुगेको छ।
ओली नेतृत्वको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै बाढीपीडितको अवस्था, उद्धार तथा राहत वितरणबारे जानकारी लिने एमाले सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले जानकारी दिएका छन्।
बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एमालेले महेश बस्नेतको नेतृत्वमा ४० सदस्यीय सहयोग समिति गठन गरेको छ। साथै, प्रभावित क्षेत्रको उद्धार, राहत र दीर्घकालीन पुनःस्थापनाका लागि पार्टीका तर्फबाट सरकारी कोषमा १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ।

