काठमाडाैं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट क्षतिग्रस्त २० वटा झोलुंगे पुल तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने तयारीमा सरकार जुटेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार क्षतिग्रस्त पुलको मर्मत तथा सञ्चालनलाई सरकारले युद्धस्तरमा अघि बढाएको छ। भदौ १० गतेको बाढीले मुग्लिङदेखि टिमुरेसम्मका ६४ झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो।
सरकारी अधिकारीको स्थलगत मूल्याङ्कनपछि तीमध्ये २० वटा पुल मर्मत गर्नुपर्ने निष्कर्ष निकालिएको थियो। मर्मतका लागि भदौ १७ गते कार्यादेश जारी गरिएको छ।
हाल महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुंगे पुलको मर्मतमा प्रगति भइरहेको छ। यी पाँचवटै पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसैगरी, पुनर्निर्माण गर्नुपर्ने थप ३३ वटा झोलुंगे पुलका लागि भदौ १७ गते नै बोलपत्र आह्वान गरिएको छ।

