थापाटार–भाङटार झोलुङ्गे पुलको शिलान्यास, हेलम्बुको आवागमन र पर्यटनमा टेवा पुग्ने अपेक्षा

मेलम्ची । हेलम्बु गाउँपालिका–६ र वडा नं. २ जोड्ने थापाटार–भाङटार झोलुङ्गे पुलको शिलान्यास सम्पन्न भएको छ। मेलम्ची खोलामा आएको विनाशकारी बाढीले यस क्षेत्रमा रहेको थापाटार हुँदै पेवाडाँडा जोड्ने पुल बगाएपछि स्थानीयको आवतजावतमा ठूलो समस्या सिर्जना भएको थियो। त्यसपछि नयाँ पुल निर्माणको आवश्यकता तीव्र रूपमा महसुस हुँदै आएको थियो।

बाढीपछि खोलाको बगर फराकिलो हुनुका साथै भौगोलिक तथा प्राविधिक जटिलता बढेकाले पुल निर्माण सहज थिएन। निर्माण लागतसमेत बढ्ने अवस्थाका कारण योजना कार्यान्वयनमा थप चुनौती देखिएको थियो।

यस्तो परिस्थितिमा बागमती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केको कार्यकालमा हेलम्बु–६ का वडा सदस्य मानबहादुर पण्डितको पहल, समन्वय र निरन्तर फलोअप महत्वपूर्ण रह्यो। योजना अघि बढाउनेदेखि सम्बन्धित निकायसँग समन्वय गर्ने काममा उहाँले देखाउनुभएको सक्रियताकै कारण आज पुल शिलान्यासको चरणमा पुगेको हो।

वडा समितिको सर्वसम्मत निर्णय, सिफारिस तथा योजनाको प्राथमिकताक्रम निर्धारणमा समेत पुललाई पहिलो प्राथमिकतामा राखिएको थियो। स्थानीय आवश्यकता र समस्यालाई आधार बनाएर योजना अघि बढाइएको हो।

निर्माण सम्पन्न भएपछि थापाटार–भाङटार झोलुङ्गे पुलले वडा नं. ६ र २ बीचको आवतजावतलाई सहज बनाउनुका साथै स्थानीय सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। हेलम्बुकै महत्वपूर्ण तथा लामो झोलुङ्गे पुलका रूपमा निर्माण हुने भएकाले यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

विकास निर्माणका योजना आवश्यकता र प्राथमिकताका आधारमा छनोट गरिनुपर्छ। तर योजनालाई कार्यान्वयनको चरणसम्म पुर्‍याउन निरन्तर पहल, समन्वय, नेतृत्व र प्रतिबद्धता उत्तिकै आवश्यक हुन्छ। जनप्रतिनिधिले जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर काम गरे–नगरेको मूल्याङ्कन जनताले नै गर्नेछन्।

थापाटार–भाङटार झोलुङ्गे पुलको शिलान्याससम्मको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस महत्वपूर्ण कार्यप्रति म तथा मेरो पार्टी नेकपा (एमाले)का तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको